वैद्यका जस्ता बोली फेरि नदोहोरिऊन्.. देशले

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बागमती प्रदेश सभा बैठकमा शुक्रबार नरोत्तम वैद्यले दिएको अभिव्यक्ति राजनीतिक आचरणहीनताको चरम नमुना हो। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्सेजस्तो व्यक्ति चाहिएको मात्र भनेनन् उनले, नाथुराम बन्न आफू अघि सर्ने उद्घोषसमेत गरे। नाथुराम तिनै व्यक्ति हुन् जसले सन् १९४८ जनवरी ३० मा महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए।
वैद्यको अभिव्यक्तिको स्पष्ट अर्थ प्रधानमन्त्री ओलीको त्यसरी नै हत्या गरिनुपर्छ भन्ने हो। त्यति मात्र होइन, कसैले हत्या नगरे आफू त्यसका लागि अग्रसर हुने उनले बताएका छन्। कांग्रेसका प्रदेश सभा सदस्य वैद्यको हिंसाजन्य भनाइ आपत्तिजनक मात्र होइन, फौजदारीसमेत छ। भलै शनिबारको प्रदेशसभा बैठकमा उनले ‘आत्मालोचना’ भने गरेका छन्। यससँगै आपत्तिको पारो केही सेलाएको छ, तर यसले नेपाली राजनीतिलाई थिचेर बसेको आचरणहीनतालाई सँगसँगै प्रस्ट्याएको छ।

म को हुँ, कुन ठाउँमा छु र के बोल्नुपर्छ भन्ने हेक्का नहुँदाको परिणाम हो यो। सांसद राजनीतिक चेतयुक्त प्रतिनिधि पात्र हुन्। देशका लागि नीति बनाउन जनताले मत दिएर तिनलाई संसद्मा पुर्‍याएका हुन्छन्। तर, जब वैद्यका जस्ता अभिव्यक्ति तिनका मुखबाट निस्किन्छन्, मतदाता खिस्रिक्क पर्छन्। यस्तै गतिबिधिले सांसदको मान, सम्मान र गरिमा घट्दै गएको छ। कानुन बनाउनेबाटै कानुनको ध्वज्जी उडाइनु शोभनीय होइन।

त्यही कारण ‘नेतालाई ध्यान दिएर कानुन बलियो बनाउनुपर्छ,’ ‘नेताले नैतिकता बिर्सन थाले’, ‘कानुन कार्यान्वयन नहुँदा अराजकता बढ्यो’ जस्ता जनचर्चा व्याप्त हुन थालेका छन्। जसलाई आदर्श मानेर, जसबाट केही हुन्छ ठानेर भोट दिएर पठाएको हुन्छ, जनताले तिनैको कुरा काटिरहेका हुन्छन्। यो राजनीति आचारविहीनतातर्फ उन्मुख हुनुको परिणाम हो। यसले ल्याउने अन्तिम परिणाम भनेको सिंगो राजनीतिक सामाजिकीकरणको सांस्कृतिक मूल्यलाई द्रुत रूपमा क्षयीकरण गर्दै लैजानु हो। जसले ढिलो–चाँडो दुर्घटनासमेत निम्त्याउन सक्छ। त्यसको क्षति राजनीतिक दल वा नेताले मात्रै होइन, सिंगो देशले भोग्नुपर्छ।

त्यसो त वैद्य पछिल्ला उदाहरण मात्र हुन्। अति अराजक, अनैतिक मात्र होइन, फौजदारी प्रकृतिको अभिव्यक्ति दिएकाले उनी आपत्तिको शिखरमा छन्। तर, राजनीतिमा यो रोग पछिल्लो समय ह्वात्तै बढेको छ। दलहरूको आन्तरिक एवं अन्तरदलीय तिक्ततासँगै यसको आयतन झन् बढेको छ। नेतृत्वको उपल्लो तहमै अशिष्ट गालीगलौजको शृंखला जारी छ। सर्वसाधारण नागरिकले नै बुझ्ने गरी नैतिकता र अनुशासन बिर्सिएर सार्वजनिक, मर्यादित ठाउँमै कानुन निर्माणकर्ता र नेताका तुच्छ भाषायुक्त भाषण पछिल्लो समय बाक्लिन थालेका छन्। उनीहरुको आफ्नै मुखबाट निस्कने बोलिले आफ्नै नैतिकता र अनुशासन छरपष्ट बनाइरहेका छन्। यस्ता गतिविधिले तिनले देशको कस्तो मार्गचित्र कोर्छन् भन्ने चिन्ता थपेको छ।

नेपालको राजनीतिलाई केलाउँदा नैतिकताको खडेरी देखिन्छ। सार्वजनिक पदधारी व्यक्ति व्यक्तिगत चिनजान वा अन्य कुनै आधारमा अतिथि बन्न पाउँदा मात्रै पनि तिनले आफ्नो पदीय उत्तरदायित्व बिर्सिदिन्छन्। चिच्याउँदा, कराउँदा वा कसैलाई तल्लो स्तरको गाली गर्दा तिनले आफूलाई अब्बल ठान्छन्। नेता राजनीतिक गुरु मात्र होइनन्, समाजका अगुवासमेत हुन्। त्यही कुरा कार्यकर्ताले सिक्छन्। सर्वसाधारणसम्म पुग्छन्। राजनीतिमा पस्ने नयाँ पुस्ताले यस्तै शिक्षा लिदा नेपालको राजनीतिक क्षेत्र प्रदूषित बन्दै जान्छ। जसको कारण देशकै छवि धुमिल हुन पुग्छ। त्यसैले राजनीतिकर्मीमा कम्तिमा आफ्नो मूल सिद्धान्त, सामाजिक चरित्रको विकास र विचारको प्रखरता आवश्यक हुन्छ। सामाजिक जीवन आदर्शमय हुनु जरुरी छ। कुनै पनि राजनीतिज्ञमा विचार–दर्शनको गतिलो बुझाइ अनि आचरण–व्यवहारको उपयुक्त तालमेल हुनु वाञ्छनीय मानिन्छ।

राजनीतिले देशको शासन व्यवस्थापन गर्ने हो। जनताका तमाम समस्या समाधानमा अगुवाइ गर्ने हो। राज्यको नीति, योजना र जनभावना अनुसारका कार्यक्रम तय गर्ने हो। राष्ट्रहितका खातिर, निर्माणको जग तयार गर्ने हो। त्यसैले त्यहाँ पुगेर बोल्ने र गर्ने काम–कुराले उसको उचाइ तय गर्छ। राजनीतिक उचाइ जब घट्छ, देश अधोगतिमा जान्छ। त्यसैले राजनीतिलाई घृणित होइन, स्वच्छ प्रतिस्पर्धायुक्त बनाइनुपर्छ। त्यसको पहिलो खुड्किलो नेताको नैतिकता र आचरणनमा निर्भर गर्छ। अन्नपूर्ण पोस्टबाट।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button