विकासको एक नमुना लुम्बिनी।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकदशक अघिसम्म बुटवलदेखि भैरहवा हुँदै लुम्बिनी पुग्न करिब डेढ घण्टा लाग्थ्यो। साँगुरा र भत्किएका सडक, अनि थोत्रा बसहरू। लुम्बिनी पर्यटकीय सहर भनिए पनि दशकअघिसम्म प्रवेशद्वार भैरहवा कुरुप थियो।

बुटवलदेखि बेलहिया र बुद्धचोकदेखि लुम्बिनीसम्म अहिले सडक फराकिलो बनेको छ। बीच भागमा डिभाइडर छ। डिभाइडरमा बुद्धमूर्ति र फूलहरू फुलेका छन्। एक दशकअघि यस क्षेत्रमा आएको जो कोही बुटवल, भैरहवा र लुम्बिनीको भूगोलमा अलमलिनेछ।

६ लेन सडकको निर्माणले बुटवल–भैरहवाको दूरी छोटो भयो। १५ मिनेटको यो सडकको दुवैतर्फ सहर बसिसकेको छ। रातभर झिलिमिली बत्तीहरू बलिरहन्छन्। सहरीकरण सँगै यो क्षेत्रलाई बुटवल मेगा सिटीका रूपमा आधुनिक बनाइँदैछ। आगामी आर्थिक वर्षको बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मेगा सिटी बनाउने योजनासहित बजेट विनियोजन गरेका छन्।

बुटवल, तिलोत्तमा र सिद्धार्थनगर जोडेर महानगर बनाउने योजना गत निर्वाचनमा घोषणापत्रमा आएका थिए। मेगासिटीका लागि आवश्यक धेरै पूर्वाधारहरू बनिसकेका छन् र केही बन्ने क्रममा छन्।

आगामी आर्थिक वर्षको बजेटमा संघले पठाएको बुटवल, तिलोत्तमा र सिद्धार्थनगरको बजेट साढे २ अर्ब छ। यो त्यही बजेट हो, जसले मेगासिटीको पूर्वाधार तयार गर्नेछ। स्थानीय सरकारले छुट्टाछट्टै योजना बनाउँदै जानेछन् र मेगासिटीको मूर्तरूप लिनेछ। ठूला कार्यक्रमका लागि संघीय सरकारले सिधै बजेट राखेर काम गरिरहेको छ।

बुटवल–भैरहवा ६ लेनको सडकले यी सहरको दूरी छोटिएको छ। पूर्व–पश्चिम राजमार्गको विस्तारसँगै देवदहसँगको समयदूरी निकै कम हुनेछ। सैनामैना, शुद्धोधन, सियारी र ओमसतिया गाउँपालिका पनि यही सहरमा जोडिनेछन्। रुपन्देही क्षेत्र नम्बर २ का जनप्रतिनिधि उपप्रधान एवं अर्थमन्त्री पौडेलले रुपन्देही विकासको नमुना बनाइने बताउँदै आएका छन्। ‘विकास कस्तो हुन्छ भन्न हेर्न रुपन्देही जानुपर्छ भन्ने सन्देश दिने गरी नमुना काम भइरहेका छन्,’ उनले भने।

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी पूर्वबर्दघाटदेखि पश्चिम चार नम्बरसम्मलाई नै मेगा सहरका रूपमा देख्छन्। उनले भनेजस्तै पछिल्लो समय विकास भएका पूर्वाधारले पनि त्यो सम्भव देखाएको छ। तीव्र रूपमा भइरहेको बसाईसराइले यो क्षेत्र भरिँदै गएको छ। बुटवलदेखि भैरहवासम्मको सडक छेउ सहरीकरण भइसकेको छ। सैनामैनाको सालझण्डीसम्म उस्तै सहर छ। दक्षिणतर्फ फर्साटिकर, अमुवासमेत सहरीकरण भइरहेका छन्। यसले बुटवललाई बृहत् सहरका रूपमा विकास गरेको छ।

तर, यहाँ भइरहेको विकासमा एकरूपता आवश्यक हुने विज्ञहरू बताउँछन्। बुटवलका एक अध्येता युवराज कँडेलले बुटवल मेगासिटीको विकासका लागि पालिकाहरूमा निर्माण हुने पूर्वाधारमा एकरूपता हुनुपर्ने बताउँछन्। ‘खासगरी पूर्वाधार विकास एकै किसिमको हुने गरी महानगर विकास प्राधिकरण बनाएर त्यसैमार्फत कार्यक्रम सञ्चालन हुने गरी बजेट आउनुपर्छ, उनी भन्छन्, ‘विकासमा एकरूपता हुन सकेन भने मेगासिटी बन्न कठिन हुन्छ।’

बुटवल–भैरहवा, घोराही–तुल्सीपुर, कोहलपुर–नेपालगञ्जलाई महानगरका रूपमा विकास गर्ने योजना पनि छन्। प्रदेश र संघीय सरकारका योजनामा यी प्राथमिकतामा परेका छन्। बुटवल–भैरहवा क्षेत्रलाई महानगरमा विकास गर्ने कुरा राजनीतिक विषयसमेत बन्नेछ। तर, विकसित र आधुनिक सहर बनाउन भने योजनाबद्ध विकास आवश्यक छ।

आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री पौडेलले बुटवलमा भूमिगत विद्युत् प्रशारण बनाउने गरी बजेट विनियोजन गरेका छन्। यो भनेको हाल सहरलाई कुरुप बनाउने गरी झुण्डिएका तारहरूको सही व्यवस्थापन हो। अहिले काठमाडौंमा यो काम भइरहेको छ।

बुटवललाई हरित सहरका रूपमा विकास गर्ने योजना बुटवल उपमहानगरको छ। चुरेको फेद र नदीको किनार भएकाले बुटवललाई हरित बनाउने योजना अनुरूप सडक डिभाइडरमा वृक्ष संरक्षण कार्यक्रम चलेको छ। तिनाउ–दानव कोरिडोरलाई हरियाली मार्गकै रूपमा विकास गर्ने योजना छ। योसँगै बेलबास बेथरी सडक पनि हरियाली सडककै रूपमा विकास गर्ने योजना बनिरहेका छन्।

सहरलाई आधुनिक र सुरक्षित बनाउन तिलोत्तमा ट्राफिक लाइट राखिएको छ। तिलोत्तमा नगर प्रमख वासुदेव घिमिरे भन्छन्, ‘सडक सुरक्षाका लागि पहिलो चरणमा मणिग्रामबाट यो काम थालिएको छ।’ तिलोत्तमाले पनि ‘ग्रिन’ र सफा सहर बनाउने योजना अघि सार्दै खुला प्लाष्टिकमुक्त क्षेत्र घोषणा नै गरेको छ।

ट्राफिक व्यवस्थापनका लागि बुटवल र भैरहवामा पनि ट्राफिक लाइट जाडान गर्नुपर्छ। बुटवल मेगासिटी निर्माणका पूर्वाधारहरू नमुना अटोभिलेज, नमुना ट्रान्सपोर्ट भिलेज बनिसकेका छन्। यसले सहरमा हुने अनावश्यक भीड र कुरुपतालाई नियन्त्रण गर्छ। अहिलेका नगरहरूमा मुख्य समस्या फोहोर व्यवस्थापनको रहेको छ। सैनामैना नगरपालिकाले आधुनिक ल्याण्डफिल्ड साइटको निर्माण अघि बढाएको छ। यसमा धेरै पालिकाको सहकार्य छ। भैरहवा र तिलोत्तमाको फोहोर व्यवस्थापनका लागि ठोस कार्यक्रम आवश्यक रहेको छ।

‘सैनामैनाको ल्याण्डफिल्ड साइटले फोहोर व्यवस्थापनमा महत्वपूर्ण काम गर्छ, नगरप्रमुख चित्रबहादुर कार्की भन्छन्, ‘छिमेकी पालिकाको फोहोरसमेत यहाँ व्यवस्थापन हुनेछ।’

बुटवलदेखि भैरहवा र लुम्बिनीसम्म विद्युतीय बस चलाउने योजना छ। जसका लागि आगामी आर्थिक वर्षमा अनुदान कार्यक्रमसमेत सरकारले बजेटमा ल्याएको छ। लुम्बिनीमा विद्युतीय बस चलाउने योजना पहिलेदेखि नै हो। तर, त्यो सञ्चालनमा आउन सकेको छैन।

बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भैरहवाको विमानस्थलले बुटवल र भैरहवालाई अझै चलायमान बनाउनेछन्। बेलहियामा बन्ने पार्किङ ग्राम अर्काे आधुनिक पूर्वाधार हो। यसले अहिले सडक छेउमा छरिएर रहने मालवहाक गाडीहरूको सही व्यवस्थापन गर्नेछ।

कर्साघाटमा बन्ने आधुनिक कृषिउपज निर्माण, रंगशाला, केवलकारले बुटवल मेगाटिसी सपनालाई मूर्तरूप दिनेछन्। बुटवलमाथिका दुई डाँडामा नै केवलकार सञ्चालनका लागि निर्माणको काम सुरु भइसकेको छ।

आधुनिक सहरको जनघनत्वलाई आवश्यक खानेपानीको योजना निर्माणका क्रममा छ। झुम्सा खोला खानेपानी आयोजनाले बुटवलमा दैनिक ३ करोड लिटरभन्दा धेरै पानी आउनेछ। सिद्धबाबाको सुरुङ मार्ग र कालीगण्डकी तिनाउ डाइभर्सनले पनि यो सहरलाई अझै आकर्षक बनाउनेछन्। डाइभर्सनपछि तिनाउमा जल पर्यटक भित्र्याउने योजना छ। ती पर्यटक लुम्बिनीबाट बुटवल हुँदै पाल्पाको तानसेनसम्म पुग्नेछन्।

लुम्बिनी प्रदेश सरकारले बुटवल क्षेत्रलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने गरी आगामी आर्थिक वर्षको नीति कार्यक्रम तर्जुमा गरेको छ। प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै बुटवललाई आर्थिक राजधानी बनाउने विशेष निर्णयसमेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button