म्यानमारको आन्दोलनमा अग्रपंक्तिमा छन् नेपाली युवाहरु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्वी एसियाली राष्ट्र म्यान्मारमा गत माघ १९ (फेब्रुअरी १) गते सेनाले प्रजातान्त्रिक सरकार बर्खास्त गरी ‘कु’ गरेपछि अशान्ति र त्रासबाहेक केही छैन। सैन्य जुन्ताले सत्ता हातमा लिएर दिनहुँ म्यान्माली नागरिकमाथि क्रुर दमन गरिरहेको छ।

‘जुन्ता’ विरुद्ध उठेका प्रत्येक आवाजलाई दबाउन सैनिकले देशभर पूर्णरूपमा बल प्रयोग गरिरहेको छ। सरकारले चलाएको नरसंहारमा १ हजारभन्दा बढी स्वतन्त्र नागरिकले ज्यान गुमाइसकेका छन्। गल्ली–गल्ली र टोल–टोलमा प्रजातन्त्रवादीहरू सैनिकको गोली लागेर ढलिरहेका छन्। म्यान्मारका सेना प्रमुख मिनओङ ह्लाइङले ‘जननिर्वाचित नागरिक सरकार’लाई अपदस्थ गरी सत्ता हत्याएका हुन्।

संसद्मा दुईतिहाइ सिट जितेको सत्तारुढ दल ‘नेसनल लिग फर डेमोक्रेसी पार्टी’की सर्वोच्च नेतृ आङ सान सुकीसहित अधिकांश नेता सैन्य हिरासतमा छन्। सुकी झन्डै चार महिनापछि गत सोमबार पहिलोपल्ट अदालतमा देखिएकी थिइन्। सर्वोच्च अदालतको आदेशमा नेतृ सुकीलाई विशेष अदालतमा बयानका लागि पेस गरिएको सैन्य परिषद्ले जनाएको छ। यहाँका नागरिक प्रजातन्त्र र स्वतन्त्रता चाहन्छन्। सैनिक शासनको चर्को विरोध गरिरहेका छन्। प्रजातन्त्र पुनःस्थापना गरी छाड्ने दृढ अठोटका साथ शान्तिपूर्ण प्रदर्शनमा केन्द्रित छन्। सैन्यसत्ता जुन्ता नागरिकको प्रदर्शन देखेर अत्तालिएको छ। तर, तत्काल गैरन्यायिक कदमबाट पछि हट्ने संकेत देखिँदैन।

सैनिकले प्रजातन्त्र पक्षधरमाथि चरम ज्यादति गरिरहेको छ। सेनाको गोलीद्वारा दैनिकजसो स्वतन्त्र व्यक्तिको हत्या भएको छ। हजारौं नागरिक सैनिक हिरासतमा यातना भोगिरहेका छन्। जुन्ताले बन्दुकको बल देखाउँदै जनताको अधिकार खोस्ने प्रयास गरेको छ। देशमा त्रास कायम गर्ने सपना देख्छ– त्यो क्रूर शासक।  नागरिकको अधिकारमा पहिलो पूर्णप्रजातान्त्रिक चुनाव गत नोभेम्बरमा सम्पन्न भयो। जहाँ बहुमत सिट जित्दै नेसनल लिग फर डेमोक्रेसी पार्टी र सर्वोच्च नेत्री सुकीको रोचक विजय यात्रासँगै पूर्ण प्रजातन्त्र र स्वतन्त्रताको अनुभूति गर्न प्रतीक्षारत थिए। वर्षौँदेखि राज्यसत्ताको दुरुपयोग र दोहन गर्दै हुर्किरहेको सैनिक शासकको मस्तिष्क भने नराम्रोसँग खलबलिएको थियो। नागरिकको प्रगतिर स्वतन्त्रताको सहजयात्रा देखेर सैन्य तानाशाही रोइरहेको आभाष हुन्थ्यो। नोभेम्बरको चुनावपछि हार स्वीकार गर्नुको सट्टा सैनिक नेतृत्व अनेकन झुटा आरोपमै अल्झिरहेको छ। हेरौं, कति दिन चल्छ अपराधीको अराजक यात्रा ? सन् १९८८ मा भएको जनआन्दोलनका नायक विद्यार्थी नेताउमिन कोनाई भन्थेंँ, ‘कैयौं शरीर यहीँ सडकमा न्यौछावर गरियो। लाखौं हाम्रा जीवनहरू जेलमा बिते। अब पनि हामी के–का लागि डराउने ?’  शान्तिपूर्ण प्रदर्शन गर्दागर्दै जनताको शिरमा गोली चलाउँदै मारिरहेको छ। जति–जति सहिद थपिँदै छन्, उतिनै जनता निडर भई सामना गर्न तयार भइरहे। कतिपय युवाले शान्ति कायम गर्न अन्य देशका दूतावासमा अपिल गरे।

अग्रपंक्तिमा गोर्खाली युवा
मोर्चाको अग्रपंक्तिमा गोर्खाली युवाले उत्तिकै खटेर लाग्ने संकल्प गरेका छन्। तर, अगुवाकोे खाँचो देखिन्छ। देशमा वर्षौँदेखि तानाशाहीविरुद्ध आवाज उठाइरहेका केएनयू, केआईएजस्ता तमाम सैन्य शक्ति एक ठाउँमा एकजुट भएका छन्। उसो त केआईएभित्र गोर्खा बटालियनसमेत खडा गरिएको छ। जहाँ गोर्खाहरू म्यान्मार राष्ट्रको स्वतन्त्रताका लागि पुनः लड्न तयार भएर मैदानमा उत्रिएका छन्। प्रजातान्त्रिक आन्दोलनमा नेपालीमूलका तीनजना गोर्खालीले ज्यान गुमाएका छन्।  यहाँको विद्रोही लडाकु समूह– केआईएभित्र गोर्खा बटालियन पनि छ। उनीहरू यहाँको सरकारविरुद्ध विद्रोहको झन्डा फहराउँदै गोर्खा पल्टनको चिनारी मानिने ‘गोर्खा क्रस’ खुकुरीसहितको लोगो लगाउने अन्तिम तयारीमा छन्। सरकारी सुरक्षाफौजको विकल्पमा केआईए विद्रोही सेनालाई हेरिन थालेको छ। नेपाली भाषीको साथ पनि दिनानुदिन बढिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button