मोराङमा जङ्गली हात्ती संग सेल्फी र टिकट बनाउन खोजेपछि।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा शुक्रबार बिहान ७ बजेतिर एउटा जंगली हात्ती देखा पर्‍यो।

हात्ती देखिएपछि हेर्न र धपाउनलाई गाउँलेहरू भेला भए। खेतमा काम गरिरहेका केही स्थानीय पनि जम्मा भए। वरपरको भीडले होहल्ला गर्न थालेपछि हात्ती अगाडि बढ्न थाल्यो। त्यत्तिकैमा सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँ भने हात्ती भएतिरै जाँदै थिए। लगभग एक सय मिटरजति नजिक पुगेपछि गोजीबाट मोबाइल निकालेर हात्तीको फोटो खिच्न खोजे।

मान्छेको होहल्लापछि आफूमाथि अवरोध पुगेको ठानेर आक्रामक बनेको हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो पाउन सकेनन्। एक्कासी दौडिएर आएको हात्तीले फोटो खिच्नसमेत नभ्याइकन मनोहरलाई बिहान आक्रमण गरेको वडाध्यक्ष नुरुल मियाँले जानकारी दिए।

‘जंगली हात्ती देखेपछि लखेट्नलाई स्थानीय भेला हुने क्रममा एक युवाले चैँ नजिकै गएर हात्तीको फोटो खिच्न खोजेछन्,’ उनले भने, ‘होहल्ला हुन थालेपछि आक्रामक बनेको हात्तीले फोटो खिच्नै नभ्याइकन छेउमै आएर ती युवालाई लछारेर घाइते बनायो।’

हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका मनोहरको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा बिहान पौने नौ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार जंगली हात्तीको आक्रमणमा परेर घाइते भएपछि उपचारका लागि ल्याए पनि अवस्था गम्भीर भएकाले बचाउन नसकिएको जानकारी चिकित्सकले दिएका छन्।

उक्त हात्ती भारतबाट विराटनगर महानगरपालिका–१८ बुधनगरको भेडियारी हुँदै बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको राईले बताए। नेपाल प्रवेश गर्नुअघि भारतको सोनापुर र फुलगाहामा पनि उक्त हात्तीले मानवीय क्षति गराएको पाइएको छ।

सो हात्तीको आक्रमणबाट चार जना भारतीय नागरिकलाई मारेको बुझिएको छ। लगत्तै  बिहीबार नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। बस्तीमा छिरेर वितण्डा मच्चाउँदै मान्छे मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जंगली हात्ती नेपाल आइपुगेको प्रहरीको भनाइ छ। नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको डीएसपी राईले बताए।

वडाध्यक्ष मियाँले छेउछाउमा मान्छे देख्दा निक्कै उत्तेजक भएर हात्ती आक्रमणमा उत्रिहाल्ने खालको रहेको बताए। ‘गाउँमा हात्ती देख्दा युवालाई फोटो खिच्ने रहर लाग्यो। भेला भएकाहरूले होहल्ला गर्न थालेपछि भाग्ने क्रममा हात्ती युवानजिकै आइपुगेछ,’ उनले भने, ‘वरपर हिलो रहेकाले फोटो खिच्दै गरेका युवाले भाग्नसक्ने अवस्था नै भएन। छलिएर भाग्ने मौका नै नपाइकन फोटो खिच्ने युवालाई लछारेर हात्ती हिँड्यो।’

स्थानीयको सहयोगमा प्रहरीले हात्तीलाई लखेट्ने प्रयास गरिरहेको छ। धपाएपछि हात्ती कुरेलीबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको प्रहरीले जानकारी दिएको छ।

वन्यजन्तु विज्ञहरूले भने कुनै पनि जंगली जनावरको नजिक जाने र छेउ पर्ने गर्न नहुने सुझाव दिएका छन्। डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहले भीडभाड गरेर छेउमा जाने र लखेट्ने गर्दा आक्रामक बनेको हात्तीले मानवीय क्षति गराएको बताए। ‘हात्ती लगायतका जंगली जनावर देखिएमा भीडभाड तथा होहल्ला गर्ने, छेउमा जाने, जिस्क्याउने र तर्साउने गर्न हुँदैन,’ उनले भने, ‘त्यसो गर्दा आफूलाई असर परेको र अवरोध पुगेको ठानेर आक्रामक बन्दै भड्किएर मान्छेमाथि नै आइलाग्छ।’

जंगली जनावर छेउमा आउँदा परपरै हुनुपर्ने र जनावरलाई बिना अवरोध गन्तव्यतिर जाने वातावरण बनाउनुपर्ने साहको भनाइ छ। जंगली जनावर गाउँमा आउँदा छेउमा जाने, फोटो खिच्ने, नजिक हुन खोज्ने र तर्साउने नगर्न एवं जनावर हिँड्ने बाटोमा अवरोध नगर्न सबैमा उनले आग्रह गरे। मानिसले विवेकपूर्ण ढंगले व्यवहार गर्‍यो भने मात्रै जंगली जनावरको आक्रमणबाट बच्न सकिने साहले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button