मोटरसाइकलमा काङ्ग्रेस नेता सहित २ को मृत्यु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा टिपरका कारण भएको दुर्घटनामा परेर आइतबार राति नेपाली कांग्रेस धनकुटाका नेतासहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुने एक जना मोरङको बेलबारीस्थित एनएमबी बैंकका कर्मचारी हुन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा हुइँकिएको नम्बर नखुलेको टिपरका कारण विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएपछि त्यसमा अर्को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिको टिपरबाट जोगिने क्रममा पश्चिमतर्फ आउँदै गरेको को २९ प ९५५० नम्बरको मोटरसाइकल साँझ पौने ८ बजेतिर सडकमा पल्टिएको थियो। सडकमा पल्टिएको मोटरसाइकलमा पूर्वतर्फ जाने क्रममा टिपरको पछाडि रहेको अर्को को ३६ प ५९७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए। प्रहरीलाई प्राप्त सिसी टिभी फुटेजमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले तीव्र गतिको टिपरलाई समेत ओभरटेक गर्न खोजेजस्तो देखिन्छ।

दुर्घटनामा परेर दुवै मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको उपचारका क्रममा धरानमा मृत्यु भएको र एक जनाको उपचार जारी रहेको एसपी शर्माले बताए।

उनका अनुसार दुर्घटनामा परेर को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका चालक धनकुटाका कांग्रेस नेता पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको राति साढे ९ बजेतिर मृत्यु भयो। सोही मोटरसाइकलको पछाडि सवार धनकुटाको पाख्रीबास–७ का २५ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि भीमबहादुरलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको छ।
मृतक कृष्णबहादुर नेपाली कांग्रेस धनकुटाका सचिव हुन्। त्यसअघि उनी राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिवकै भूमिकामा थिए।

दुर्घटनामा घाइते भएका भीमबहादुर नातामा कृष्णबहादुरका भाइ पर्छन्। कांग्रेस धनकुटाका अर्का सचिव विजय सन्तोषी राईका अनुसार धनकुटाबाट झापास्थित घरतर्फ जाने क्रममा कृष्णबहादुर र भीमबहादुर दुर्घटनामा परेका हुन्। दुर्घटनामा धनकुटाका असल नेता एवं पार्टीका जिल्ला सचिव गुमाउनु पर्दा कांग्रेसलाई अपूरणीय क्षति पुगेको उनको भनाइ छ।

त्यस्तै दुर्घटनामा अर्को को २९ प ९५५० नम्बरको मोटरसाइकलका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय दीपु साहको पनि मृत्यु भएको एसपी शर्माले बताए। उनका अनुसार मृतक साह मोरङको बेलबारी नगरपालिकास्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी भएको खुलेको छ। बेलबारीबाट इटहरीस्थित घरतर्फ आउँदै गर्दा उनी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो।

एसपी शर्माका अनुसार दुर्घटनाको कारक बनेको टिपरको नम्बर खुलेको छैन। पहिचान हुन नसकेको टिपरको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकललाई भने नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button