पुनःस्थापना केन्द्रमा युवकको मृत्यु, हत्या गरिएको परिवारको दाबी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोहलपुरको जागरण पुनःस्थापना केन्द्रमा २१ बर्षका एक युवकको मृत्यु भएपछि मृतकका परिवारले मृत्युलाई ‘हत्या’ भएको दाबी गरेका छन् । दाङको तुलसीपुर बेलुवा घर भई हाल कोहलपुरमा बस्दै आएका कुले ओलीका छोरा टोपबहादुर ओलीको ३ दिन अघि मृत्यु भयो । गत साउन ५ गते छोरालाई पुनःस्थापना केन्द्रमा राखिएको बताउँदै ओलीले भने-‘म त सोलुखुम्बुतिर बस्छु, तीन दिन अघि विहान ८ बजेतिर उसकी आमालाई फोन आयो, तपाईंको छोरा विरामी छन्, हामीले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याएका छौं भनेछन्, त्यसपछि फेरि ५ मिनेटमै अर्को फोन गरेर तपाईंको छोराको मृत्यु भयो भनियो, केही नभएको मान्छेको एक्कासी कसरी मृत्यु भयो’, उनले भने-‘मेरो एक मात्र छोरो थियो, कुलतमा लागेपछि उसकी आमाले त्यहाँ लगेर राखिदिइन्, अहिले छोराको मृत्यु भयो, हामीले छोरालाई त्यहाँ मार्न पठाएका त होइनौं नि ?’

उनले छोराको शरीरभरि निलडाम भएको बताएका छन् । ‘घाँटीदेखि पैतलासम्म चोटै चोट र दाग छ, पैतलामा रगत जमेर निलो भएको छ, कोर्रा र चिर्पटले हानेका धब्बा छन्, अण्डकोष फुटेको छ’, मृतकका बुवाले भने । छोराको हत्या गरेर अपराध लुकाउन पुनःस्थापना केन्द्रका सञ्चालकहरुले अनेक प्रपञ्च गरेको आरोप उनको छ । घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाही नहुँदासम्म छोराका लाश नबुझ्ने उनले बताए । घटना जेठ २४ गतेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बयान र प्रमाण जुटाएर घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताए । खनालले उनी बसेको कोठा, उनका साथी, उनीसंग बस्ने पार्टनर, उनको दायाँ बायाँ कोठमा बस्नेहरु तथा पुनःस्थापना केन्द्रका सञ्चालक र कर्मचारीहरुसंग पनि घटनाबारे बुझिरहेको बताए । उनले भेरी अस्पतालमा डाक्टरहरुको एक समूहले लाशको पोष्टमार्टम गरिसकेको जानकारी आएपनि रिपोर्ट आफू कहाँ नआएकाले यसबारे थप भन्न नसकिने बताए ।

‘रिपार्ट पाएपछि शंका गर्ने नगर्ने ठाउँ के कस्तो हुन्छ, त्यही अनुसार घटनालाई हेर्छौं’, उनले भने । जागरण पुनःस्थापना केन्द्रले भने उनी एकाएक बेहोस भएपछि घरमा जानकारी गराएको, अभिभावकीय भूमिका निभाउँदै उपचारमा लगेर पनि बचाउन नसकेको बयान दिएको डिएसपी खनालले जानकारी दिए । उनीहरुले प्रहरी समक्ष टोपबहादुर बेहोस भएपछि शुरुमा कोहलपुर मेडिकल कलेज लगेको तर नन कोभिड विरामीलाई त्यहाँ भर्ना नगरेपछि भेरी अस्पताल ल्याएपनि बचाउन नसकेको बताएका छन् ।

‘सानोमा इन्सेफ्लाइटिस भएकाले मेरो छोरोको हात र खुट्टाको एक साइड अपांग थियो, उ शारिरीक रुपमा केही कमजोर नै थियो तर कुलतमा लागेपछि सुध्रिएला भनेर त्यहाँ पठाएको उनीहरुले उल्टै मारे’, उनले आक्रोश पोखे । चरम शारीरिक यातना दिएर आफ्नो छोराको हत्या गरिएको उनको जिकिर छ । मृतकका बुवाले छोरालाई छारे रोगको सामान्य समस्या भएको बताएका छन् । तर, छोरो बेहोस भएर मरेको नभई शरीरमा चोटको प्रकृति र उनीहरुको व्यवहार देख्दा हत्या नै गरिएको उनको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button