पठाओ राइडरकाे टिप्परले लियो भविष्य

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बहिनीलाई बिएससी नर्सिङ पढाउने पठाओ राइडर सुनिलको सपना खोस्यो टिपरले।

सुनिलप्रसाद महतो दिनभरि मोटरसाइकल वर्कसपमा काम गरेर बुधबार साँझ आफ्नो डेरा फर्केका थिए।कलंकीस्थित उनी काम गर्ने वर्कसपबाट डेरा नजिकै थियो। उनी पुग्दा कान्छी बहिनीले कोठामा खाना पकाइसकेकी थिइन्। हत्तपत्त खाना खाएर उनी मोटरसाइकल स्टार्ट गरेर निस्किइहाले।

पर्सा, जगरनाथपुर गाउँपालिका-४ घर भएका २५ वर्षीय महतो दिनभर वर्कसप र रातको समय पठाओ राइडरको काम गर्थे।दसैंको फूलपातीको दिन मात्रै बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकल निकालेपछि उनले अतिरिक्त कमाइका लागि पठाओ राइडरको काम सुरू गरेका थिए।

बुवा प्रेमचन्द्रका अनुसार सुनिल चार वर्षदेखि काठमाडौं बस्दै आएका थिए। गाउँमा प्लस-टू पढाइ सकेर सुनिल काठमाडौं आएका थिए। यहाँ वर्कसपमा काम गर्न थालेका थिए। उनले आफ्नी कान्छी बहिनीलाई पनि यतै पढाउने भनेर ल्याएका थिए।

अहिले उनकी बहिनी बिएस्सी नर्सिङ पढ्ने तयारीमा थिइन्। ‘बहिनीलाई बिएससी नर्सिङ पढाउने भनेर रातदिन काम गरिरहेको थियो,’ शुक्रबार महानगरीय प्रहरी वृत्त गौशालामा भेटिएका प्रेमचन्द्रले मलिन स्वरमा भने।

त्यस दिन साँझ घरबाट निस्केका सुनिल राति अबेरसम्म फर्केनन्। फर्किएलान् नि भनेर बहिनीले पनि राति खोजी गरिनन्।

बिहान सुनिलको मोबाइलमा फोन गर्दा पो उनले थाहा पाइन्- सुनिल त राति नै दुर्घटनामा बितिसकेछन्।

आफ्नै हातले पकाएको खाना खाएर निस्किएका दाजु बितेको त्यो अकल्पनीय खबर बहिनीका लागि आफैंमा पीडादायी थियो। साथमा त्यो घटनाले उनको बिएससी नर्सिङ पढ्ने सपना पनि भताभुंग पारिदिएको छ।

बहिनीलाई नर्सिङ पढाउने चाहना निम्ति संघर्ष गरिरहेका सुनिलका पाइला एकै रातमा रोकिए, सधैंका लागि।

अब छोरी एक्लै काठमाडौं बसेर पढ्लिन् वा नपढ्लिन् भन्नेबारे अहिले नै सोच्ने र भन्ने अवस्थामा छैनन् प्रेमचन्द्र।

प्रहरीका अनुसार त्यस रात सुनिल पछाडि यात्रु लिएर ललितपुर, टिकाथली हिँडेका थिए। सवा १० बजे सिनामंगल चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको खबर गौशाखा वृत्तमा पुगेको थियो।

वाकीटकीमै घटनाको सूचना पछ्याउँदै वृत्तको एयरपोर्टस्थित सिआरभी भ्यान सिनामंगल चोक पुग्यो। त्यहाँ सुनिल र उनीसँग रहेका यात्रु रामेछाप, दोरम्बा घर भई ललितपुर, टिकाथली बस्ने ३० वर्षीय अमर पहारी ढलिरहेका थिए।

मोटरसाइकल, चालक र यात्रु तीनतिर थिए, टिपर गायब।

सुनिल अत्यन्त गम्भीर थिए भने पहारी छटपटाइरहेका थिए। दुवैलाई उठाएर प्रहरीले काठमाडौं मेडिकल कलेजको सिनामंगलमै रहेको अस्पताल पुर्‍याए।

‘बिहीबार बिहानै सुनिलको उपचार क्रममा मृत्यु भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने, ‘घाइतेको उपचार भइरहेको छ, उहाँको खुट्टा भाँचिएको छ।’

भट्टराईका अनुसार टिपर कोटेश्वरतर्फ गइरहेको थियो। त्यही दिशामा गइरहेको मोटरसाइकललाई टिपरले ओभरटेक गरेको थियो।

ठक्कर दिएपछि टिपर चालक रोकिएनन्। बा४ख ८७२५ नम्बरको टिपर हुँइक्याएर चालक कोटेश्वर पुगिसकेका थिए।

‘कोटेश्वरबाट टिपर समातेर ल्यायौं, चालकलाई नियन्त्रणमा राखेर सवारी ज्यानअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button