डिजेल लोड गरिएको ट्यांकर चोरी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर: विराटनगरस्थित नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयनजिकको पार्किङ स्थलबाट सोमबार बिहान डिजेल लोड गरिएको ट्यांकर चोरी भएको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ स्थित कार्यालयको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको हो । तर भगाउँदै गरेको अवस्थामा ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार भगाएर लगभग ४ किलोमिटर उत्तर मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीमा पुर्‍याएपछि ट्यांकरसहित चालकलाई नियन्त्रणमा लिइएको हो ।

तीव्र गतिमा ट्यांकर भगाउँदै गर्दा चालक विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरिएको उनले बताए । बिहानका राति लगभग १: ४० बजेतिर पार्किङ गरेर राखिएकै स्थानबाट ट्यांकर चोरी भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार तत्कालै घटनाको जानकारी पाएर नियन्त्रणमा लिन सकिएकाले भगाएर अन्यत्र लैजाने योजना भने असफल भएको छ ।

नेपाल आयल निगम विराटनगरका प्रवक्ता दिवश विष्टका अनुसार अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर ल्याइपुर्‍याइएको ट्यांकर मध्य राति साढे १२ बजेतिर पार्किङ स्थलमा राखिएको थियो । डिजेल अनलोड नगरिकन पार्किङ गरेर सहचालक शिव खनाललाई ट्यांकरको सुरक्षाको जिम्मा दिँदै चाबी ट्यांकरमै छाडेर चालक यामकुमार खनाल सुत्न गएका थिए । सहचालक खनाल शौचालय गएको मौका छोपेर ट्यांकर चोरी भएको पाइएको विष्टले बताए । शौचालयबाट फर्किएर हेर्दा ट्यांकर नदेखेपछि उनले प्रहरी र निगमलाई खबर गरेका थिए ।

विष्टका अनुसार ट्यांकरमा २० केएल (२० हजार लिटर डिजेल) लोड थियो । त्यसको मूल्य २० लाखभन्दा बढी हुने निगमले जनाएको छ । निगमको डिपोनजिक पार्किङ गरेर राख्दा सुरक्षाका दृष्टिकोणले ट्यांकरमै चाबी छाड्ने गरिएको प्रवक्ता विष्टको भनाइ छ । उनका अनुसार राति आगलागी वा कुनै घटना भयो भने आपतकालीन अवस्थामा तत्काल बाहिर भगाउनुपर्ने भएकाले पार्किङका बेला चाबी ट्यांकरमै राख्ने गरिन्छ ।

चालक र सहचालक दुवै जना त्यहाँ नभएको मौका छोपेर डिजेलसहितको ट्यांकर चोरी गरिएको जानकारी विष्टले दिए । उनका अनुसार चोरीमा संलग्न यादव यसअघि निगमकै ट्यांकर चालक थिए । तीन/चार महिनाअघि मात्रै उनले काम छाडेको विष्टले बताए । ‘निगमकै पूर्वचालक भएकाले पार्किङ गर्दा ट्यांकर कसरी राखिन्छभन्ने यादवलाई थाहा थियो,’ उनले भने, ‘सबै जानकारी भएकैले डिजेल लिएर आइपुगेको केही बेरमै पार्किङ स्थलबाट चोरी गरेर ट्यांकर भगाएको पाइएको छ ।’

उनका अनुसार हेडलाइटसमेत नबालिकन पार्किङ स्थलबाट निकालेको र छेउकै तिरुपति पेट्रोल पम्पनजिक पुर्‍याएपछि भगाउने क्रममा मात्रै ट्यांकरको लाइट बालेको खुलेको छ । सीसी क्यामेरा फुटेजमा उत्तरतर्फ लैजाँदै गरेको देखेपछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका यादवले भने चार/पाँच जनाको मिलेमतोमा चोरी गरिएको प्रहरीलाई बताएका छन् । पार्किङ स्थलबाट अरुले नै निकालेर आफूलाई विराटनगरको ढाटमा पुर्‍याएपछि ट्यांकर जिम्मा लगाएको यादवले बताएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार चोरीमा संलग्न अरु व्यक्तिहरुको नाम पनि उनले बताइसकेका छन् । घटनाको अनुसन्धान अघि बढाइएको भन्दै डीएसपी श्रेष्ठले पक्राउका लागि चोरीमा संलग्न अरुको पनि खोजी भइरहेकाले उनीहरुको विवरण भने खुलाउन नमिल्ने बताए । ‘चोरीमा संलग्न अरुलाई पक्राउ गरिएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्छौँ,’ उनले भने, ‘डिजेलसहितको ट्यांकर कहाँ पुर्‍याउने योजना थियो भन्ने बारेमा पनि अनुसन्धान केन्द्रित गरिएको छ ।’ निगमका अनुसार श्यामकृष्ण ढुवानी सेवाले सञ्चालन गर्दैआएको ट्यांकर इन्धन ढुवानी व्यवसायी सञ्जय गुप्ताको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button