गल्छी-त्रिशूली-रसुवागढी सडक कालोपत्रे गर्न स्थानीयको अवरोध

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनु आचार्य, रसुवा । राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको वेत्रावतीदेखि नयाँ पुलसम्मको सडक कालोपत्रे रोकिएको छ । मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम रोकिएको हो । त्रिशूली–३ ए जलविद्युत् आयोजनाले जग्गाको लगतकट्टा बढी गरेको भन्दै स्थानीयले त्यसको मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने बताएका छन् ।

वेत्रावतीदेखि नयाँ पुलसम्मको तत्काल पिच गर्ने सडकको दायाँ–बायाँ ६–६ मिटर गरी १२ मिटर क्षेत्र गल्छी–त्रिशूली–रसुवागढी सडक योजनाले अधिग्रहण गरेको छ । उक्त सडक छेउमा पर्ने ६१ वटा घरटहराको क्षतिपूर्तिबापत तीन करोड ५० लाख रकम दिइएको छ । त्यसमध्ये आवश्यक कागजात नपुग्दा १० प्रतिशतलाई मुआब्जा वितरण गर्न बाँकी रहेको योजनाप्रमुख नारायणदत्त भण्डारीले बताए ।

अब करिब ४० लाख रुपैयाँ वितरण गर्न बाँकी रहेको भन्दै भण्डारीले आवश्यक कागजात ल्याएसँगै रकम वितरण गरिने जानकारी दिए । ‘पहिलो किस्ता ५० प्रतिशत पेस्की दिने गर्छौँ, अनि घर भत्किसकेपछि बाँकी पूरै रकम भुक्तानी गर्ने गरेका छौँ,’ भण्डारीले नयाँ पत्रिकासँग भने, ‘अहिलेसम्म कानुनी प्रावधानअनुसार नै रकम भुक्तानी गरेका हौँ ।’

गत माघ, फागुनमा सो स्थानको घरटहरा हटाई योजनाले सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । सो खण्डमा घरटहराको पैसा लिएर घर भत्काइसकेपछि जग्गामा काम गर्न नदिने भनी केही स्थानीयले काममा रोकावट गरेको उनले बताए । ‘कालोपत्रे गर्ने कामको तयारी गर्नुपर्ने थियो, स्थानीयको अवरोधले काम सुरु नै हुन पाएको छैन,’ उनले भने ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक रूपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकताप्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । पहिलोखण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रोखण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्म र तेस्रोखण्ड स्याफ्रुबँेसीदेखि रसुवागढीसम्मको हो । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button