कोरोना नियन्त्रणमा नेपालले अष्ट्रेलिया बाट सिक्नुपर्ने कुराहरू।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा कोरोना भाइरस संक्रमण महामारीकै रुपमा फैलिएको छ । कोरोना भाइरस देखिए लगत्तैदेखि संक्रमणमा परेको अस्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमाना मात्र बन्द गरेन, ६ राज्य तथा दुई टेरिटोरीले आवश्यकताअनुसार आन्तरिक सीमानासमेत बन्द गरिदिए । उनीहरुले नामको मात्र बन्द गरेनन्, त्यसलाई शतप्रतिशत लागूसमेत गराए ।

संक्रमण नियन्त्रणमा अस्ट्रेलियाले गरेका महत्वपूर्ण चार निर्णयको अहिले पनि चर्चा गरिन्छ जसलाई नेपालले समेत सहजै पालना गर्न सक्छ। निर्णय गरेपछि त्यसलाई पालना गराउन इच्छाशक्ति र जनताप्रतिको उत्तरदायित्व उत्तिकै आवश्यक छ।

अस्ट्रेलियाली सरकारले स्वास्थ्य क्षेत्रमा कहिल्यै राजनीति घुसाएन। स्वास्थ्य क्षेत्रमा ख्याती कमाएका विज्ञको सुझाव दुरुस्तै पालना गर्‍यो। नेपालमा भने सुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिँदो उपचार पद्धतिको विकास गरीदिए तर स्वास्थ्यकर्मीको सल्लाहअनुसार परिपक्व निर्णय लिएको भान भएन।

संक्रमण बढ्न थाले लगत्तै यहाँका प्रधानमन्त्री, राज्यका प्रिमियर तथा सम्बन्धित स्वास्थ्य अधिकारीले हरेक दिन सञ्चारमाध्यममा आएर यथार्थ जानकारी दिए र जनताको सहयोगको याचना गरिरहे। संक्रमण रोक्न लकडाउन घोषणा मात्र गरिएन, त्यसलाई पालनासमेत त्यसरी नै गराए। अर्कोतिर लकडाउनका कारण खान, बस्न समस्या परेका नागरिकलाई जीविकोपार्जन हुनेगरी सरकारले आर्थिक सहायतासमेत घरघरमा उपलब्ध गराइदियो। त्यत्तिमात्र नभई आफैले लगाएका सबै नियन्त्रणका नियमको पूर्ण पालना गर्न लगायो। स्वास्थ्यकर्मीलाई चाहिने पीपीई लगायतका सम्पूर्ण स्वास्थ्य सामग्रीको सहज जोहो गरिदिए। नेपाल सरकार प्रमुख भने अन्तर्राष्ट्रिय पत्रिकामा लेख छपाएर सहयोगको याचना गरिरहेका छन् भने विदेशमन्त्री, राजदूतलाई भनेर सहयोग जुटाउन निर्देशन दिइरहेका छन्।

अस्ट्रेलियाली सरकारका आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका डा. कृष्ण हमाल भन्छन्, ‘बिना समयको चुनावका लागि अरबौं रुपैयाँ छुट्ट्याउन सक्ने सरकारले आफ्ना देशका जनता अक्सिजन नपाएर मरिरहँदा लगानी गर्न सक्तैन भन्नु अपत्यारिलो हो।’ उनी जसरी अस्ट्रेलियाले सुपरएनुएसन जुन नेपालको सञ्चयकोषजस्तै हो त्यसमा जम्मा भएको रकम निकालेर भए पनि जनतालाई स्वास्थ्य सुविधा दिइनुपर्ने बताउँछन्। भन्छन्, ‘हो नेपाल गरिब छ र भनेजति पैसा छैन होला तर अहिलेको कठिन समयमा सरकारले देशमा रहेका हरेक स्रोतसाधनलाई उपयोग गर्नु पर्छ।’

अस्ट्रेलियामा कोभिड नियन्त्रणका क्षेत्रमा काम गरिसकेका स्वास्थ्यकर्मीसमेत सरकारले सामान्य किसिमका उपायहरु जस्तैः सामाजिक दुरी कायम गर्ने, लकडाउनलाई पालना गराउने र यथेस्ट जानकारी तथा सूचना पुर्‍याउने व्यवस्थामात्र मिलाउन सक्ने हो भने पनि धेरै हदसम्म संक्रमण नियन्त्रण हुने दाबी गर्छन्। मेलबर्नका नेपाली डा.. भुवन कँडेल सरकारले जनतालाई आश्वस्त पार्न नसकेको सुनाउँछन्। यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबलमाथि उठाउने र उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘गाउँगाउँमा गएर काम गर्न चाहने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई वृत्ति विकासका कार्यक्रम सार्वजनिक गर्ने र उनीहरुलाई दिने भनिएको तलब सुविधा समयमै दिनुपर्छ।’

संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरेकी स्वास्थ्यकर्मी आशिका चापागाईं स्वास्थ्यकर्मीलाई पीपीई लगायतका सुरक्षा सामग्री सहज उपलब्ध हुनुपर्ने सुझाव दिन्छिन्। उनी प्रश्न गर्छिन्, ‘सरकार सेवा खोज्ने तर न्युनतम सुरक्षाका लागि चाहिने सामग्री पर्याप्त नदिने हो भने कसरी काम गर्न सकिन्छ?’ उनी सबै जिल्ला तथा गाउँमा कोरोना परीक्षण गर्ने स्थान बनाउनुपर्ने र पोजिटिभ देखिएकालाई कडाइसाथ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्ने दाबी गर्छिन्। ‘जबसम्म जाँच प्रक्रियालाई तीव्रता दिन सकिँदैन र सामाजिक दुरी कायम गर्न सकिँदैन, यो भाइरस नियन्त्रण हुँदैन भनेर जनतालाई बुझाउन आवश्यक छ।’

नेपालमा अक्सिन नपाएर छट्पटिएका नेपालीले अहिले अस्ट्रेलियामा रहेका आफन्तलाई फोन गरेर सोर्सफोर्स लगाइदिन आग्रह गर्न थालिसकेका छन्। यहाँ रहेका नेपालीको नेपालमा राम्रो चिनजान हुनसक्ने भन्दै चिकित्सक, व्यवसायीसम्मलाई आफन्तले अक्सिजनका लागि आग्रह गर्न थालेका छन्। तर अहिलेको अवस्था सोर्सफोर्स लगाएर अक्सिजन पाउने अवस्था नेपालमा छैन। डा. कँडेल आफ्नै केही चिकित्सक साथीलाई नेपालबाट फोन गरेर अक्सिजनका लागि भनिदिन आग्रह गरेको अनुभव सुनाउँछन्। ‘मान्छे मृत्युको नजिक पुगिसकेपछि आफूले लगाउन सक्ने सबै उपाय लगाउन खोज्दो रहेछ,’ उनी भन्छन्।

सञ्चारमाध्यमका अनुसार अहिले अक्सिजन नपाएर छट्पटिइरहेका नेपालीको संख्या बढिरहेको छ। यहाँ रहेका नेपाली संस्था अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर जुटाउन लागिपरेका छन्। यदि सामान जुटाइयो नै भने पनि कसरी नेपाल पुर्याउने र कसलाई बाँड्ने दुविधासमेत उत्तिकै छ।

विकसित राष्ट्र भए पनि अस्ट्रेलियाले अपनाएका सामान्य नियमलाई नेपाल सरकारले थोरै कार्यान्वयन गराउन सक्ने हो भने अहिले देखिएको हाहाकार केही मात्रामा भए पनि कम हुनेमा शंका छैन। तर दैनिक ८ हजारको हाराहारीमा संक्रमण र करिब २ सय नागरिकले ज्यान गुमाइरहँदासमेत राजदूत परिवर्तन, सरकार परिवर्तन र दलीय झगडामा लागेको राजनीतिक नेतृत्वबाट साह्रै धेरै आशा गर्नसक्ने ठाउँ छैन।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button