एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाले एकताको छलफल गर्ने 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा (एमाले)को विवाद समाधानका लागि कार्यदलले सकारात्मक ढंगले छलफल अगाडि बढाएको छ। आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार पारेको खाकाका विषयमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ।

जेठ २ गते बनेको १० सदस्यीय कार्यदलको छलफल सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग बसेर एकताको खाका तयार पार्ने सहमति गरेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए।

बुधबार सिंहदरबारमा बसेको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरेर बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मक रुपमा छलफल भएको छ। एकताको विषय चाँडै निष्कर्षमा पुग्ने विश्वास उनको छ।

पार्टी एकताका लागि पछिल्ला दिनमा अध्यक्ष केपी ओली लचक भएपछि कार्यदलले तीन दिनदेखि छलफललाई तीव्रता दिएको हो।  अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको खाका तयार बनेको नेताहरुको भनाइ छ।

कार्यदल सदस्य गोकर्णराज विष्टले सहमतिका लागि खाका तयार भएको बताए। अदालतको फैसला अनुसार एमाले २०५७ जेठ २ मा फर्किएपछिको विवाद समाधान खोज्ने, नेकपा माओवादीबाट एमालेमा एकता हुन आएका नेताको व्यवस्थापन गर्ने, प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको विषय समाधानका लागि नजिक पुगेको विष्टको भनाइ छ।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न बुधबार साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो। नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र  विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button