आलमको परिवार भन्छन् ‘खासामा हामी पिडित हौं हामिले चांडै न्याय पाउनु पर्दछ’

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बने लगतै अफ्ताव आलमको मुद्दा पुनः चर्चामा आएको छ । गत फागुन १९ गते रौतहट आएको समयमा नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री देउवाले पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद आलमलाई चिन्ता नलिई धैर्य गरेर बस्न आग्रह गरेका थिए ।

जिल्लाको बागमती किनार छेउमा रहेको गढीमाई नगरपालिका– ६ धर्मपुर स्थित श्री १०८ विष्णु महायज्ञलाई उद्घाटन गर्न रौतहट आएका देउवाले आलमलाई छुटाउन आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्दै परिस्थिति अनुकुल भए आलम छुट्ने दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘हाम्रा यहाँका साथी जेलमा हुनुहुन्छ । म उहाँलाई छुटाउन लागि रहनेछु । अहिले अदालतको कुरा हो, उहाँले धैर्य राखेर चिन्ता नलिइ बस्नुभयो भने भोलिका दिनमा परिस्थिति बदलिन्छ । त्यसका लागि पनि तपाई निर्धक्क साथ बस्नुहोला ।’

देउवाले भनेजस्तै अहिले परिस्थिति फेरिइसकेको छ । उनकै नेतृत्वमा सरकार बनेको छ । रौतहटका काँग्रेसीजनमा अब आलमको मुद्दा चाँडो छिनोफानो हुने र उनी रिहा हुने ठूलो आशा पलाएको छ ।

देउवा प्रधानमन्त्री भएको दिन आलमको क्षेत्रमा उनका शुभचिन्तकहरुले आतिसवाजी गर्दै उत्सव र दीपावली गरेका थिए । अन्य काँग्रेसीजन जस्तै आलमका परिवारका सदस्यहरुले अदातलबाट आलम निर्दोष सावित हुने र चाँडै रिहाइ हुने आश व्यक्त गरेका छन् ।

आलमका भान्जा डाक्टर कौशर आलमले सो बमकाण्डनै नघटेको दाबी गर्दै केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले नियतवस आलमलाई फसाउन झुट्टा मुद्दा लगाएर उनलाई फसाउन लागेको आरोप लगाए । उनले आलमको लोकप्रियताले विपक्षीहरु डराएकाले जसरी हुन्छ उनलाई सिध्याउनुपर्छ भनेर हुँदै नभएको घटनालाई आधार बनाएर उनलाई फसाउन लागेको दाबी समेत गरे ।

‘जुन घटना घटेकै छैन्, त्यसको मुख्य आरोपी बनाएर आलमलाई फसाउन त्यसबेलाको राज्यका हरेक निकाय लागि परेको थियो’, उनको आरोप छ, ‘राज्यनै लागि परेपछि आलम निर्दोष हुँदाहुँदै जेल बस्नु परेको छ । अब नयाँ सरकार बनेपछि भने न्यायको आश पलाएको छ ।’

आलमका कान्छा छोरा राजिक आलमले आफ्नो बुबाको मुद्दा न्यायिक नभइ राजनीतिक प्रेरित भएकाले बुबालाई त्यसबेलाको राज्यका निकाय सबै मिलेर योजनाबद्ध ढंगले फसाउन लागेको आरोप लगाए । उनले स्थानीयदेखि केन्द्रसम्मका विपक्षी नेताहरुको योजनामा झुटा सवुत, प्रमाण, साक्षी, घटना विवरण तयार पारेर आलमलाई जसरी हुन्छ सिध्याउनुपर्छ भनेर सबै लागेको दावी गर्दै अदालतबाट चाँडैनै न्याय पाउने विश्वास व्यक्त गरे ।

‘मेरो बुबाको मुद्दा न्यायिक भएको भए त उहाँ त्यही बेला रिहा भइसक्नुहुन्थ्यो’, उनले भने, ‘तर उहाँको मुद्दालाई राजनीतिक इस्यु बनाइएकाले आज बुबा जेलमा बस्नु परेको छ । अदालतले चाँडै बुबालाई न्याय दिन्छ भन्नेमा हामीलाई विश्वास छ ।’

उनले आफूहरुले कसैलाई पनि धम्की नदिएको दाबी गर्दै केही तत्वहरु मिलेर आफूहरुलाई अनावश्यक विवादमा ल्याएर मुद्धालाई अन्तै मोड्न लागेको आरोप लगाए । उनले मिडियाहरु पनि एकपक्षीय ढंगले आलमलाई अपराधी सावित गर्न लागिपरेको आरोप लगाउँदै आफ्नो परिवारको मिडियामा आएजस्तो तानाशाह, क्रुर र डरलाग्दो नभएको ठोकुवा गरे । उनले भने, ‘पीडित त हामी हौं, न्याय त हामीले पाउनुपर्छ ।’

प्रथम संविधानसभाको अघिल्लो दिन वि.सं. २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा नेपाली काँग्रेसका नेता शेख इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बनाउँदै गरेको बम बिस्फोट हुँदा घाइते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि लागेको छ ।

हाल उनी रौतहट जिल्ला अदालतको आदेशले केन्द्रीय कारागार काठमाडौँमा रहेका छन् । प्रहरीले आलमलाई २०७६ असोज २६ गते गौर नजिकैको शेख इद्रिस गेटबाट पक्राउ गरेको थियो । आलम गत प्रतिनिधि सभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट १८ हजार ८३३ मत ल्याएर विजयी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button