अमेरिकी कम्पनीमा नेपालीलाई भेदभाव: मलेसिया।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्रपुर नगरपालिका–१ का ३१ बर्षिया शेरापसिंह गोलेको हात मेसिनले पेलिदिदाँ भाँचियो । त्यतिखेर मलेसियाको सेलेङ्गार सालमस्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगमा गोलेले काम सुरु गरेको पाँच महिनामात्रै पुग्दै थियो ।

च्यापिएर भाँचिएको हात निको हुन ५ महिना लाग्यो। त्यो समयमा उनलाई कम्पनीले तलब दिएन। बिमा वापतको क्षतिपुर्ति पनि पाएनन्। ‘महिनामा खाना खानमात्रै २/३ सय रिंगेट दिन्थ्यो,’ उनले कान्तिपुरसँग भने, ‘उचित उपचार पाइएन।’ कम्पनीले हातको प्लास्टर खोल्नसमेत अस्पताल लगेन।

‘मेरो सुपरभाइजर डेर्नमार्कका नागरिक थिए। उनले जस्ता काट्ने कैंची लिएर आए। १५ मिनेटसम्म बाल्टिनको पानीमा हात डुबाउन लगाए। तैपनि प्लास्टर काट्नै सकेनन्। पछि एकजना तामिलको घरमा पुगेपछि उनले हृयाक्सोब्लेडले बल्लतल्ल काटेर फालिदिए,’ उनले भने, ‘अमेरिकी कम्पनीले यस्तोसम्म हर्कत गर्छ भन्ने सोचेकै थिइनँ।’

गोलेले काम गरेको गुडइयर विश्वको ठूलो टायर उत्पादक अमेरिकी कम्पनी हो। कामदारहरु मेसिनसँग खेल्नुपर्दथ्यो। तालमेल मिलेन भने मेसिनले कसको हात लुछिदिन्छ पत्तो हुँदैनथ्यो। गोलेको जसरी नै यहाँको मेसिनले राम पुकार, इन्द्र बुढाथोकी, राम तरामुको हात पेलिदियो। यसरी दुर्घटनामा पर्ने भारत, म्यानमार र बंगलादेशका कामदार सूची पनि लामै छ। ‘मेरो हातमा तिघ्राको मासु ल्याएर हालिदिएको छ। अरुले औंलामा सानो चोट लाग्दा पनि क्षतिपुर्ति पाएको छ। हाम्रो हातै काम गर्न नसक्ने हुँदा पनि कम्पनीले बिमाको रकमसमेत दिएन,’ बुढाथोकीले भने।

गुडइयरमा विदेशी कामदारलाई भेदभाव गरिएको र उजुरी परेको विषयमा रोयटर्सले पनि समाचार प्रकाशित गरेको छ। जुन १ मा प्रकाशित रोयटर्सको समाचारमा मलेसियाको गुडइयर फ्याक्ट्रीमा कामदारमाथि भेदभावको आरोप लागेको उल्लेख छ। २०२० मा पनि यो कम्पनीविरुद्ध उजुरी परेको र यसलाई कारबाही गरी जरिवाना गराइएको मलेसियाको श्रम विभागका अधिकारीले रोयटर्सलाई बताएका छन् ।

‘तलब र सेवा सुविधामा भेदभाव’

 

मलेसियाको श्रम कानुनले आप्रवासी र आफ्ना नागरीकबीच तलब र सेवासुविधामा भेदभाव गरेको छैन। तर, गुडइयरले भने तलब, उपदान, ओभरटाइम, खाना, बिदावापत पाउने सेवासुविधामा विभेद गरेको नेपाली कामदारहरुले बताएका छन्।

 

‘नियमानुसार २६ दिनको हामीलाई बेसिक तलब दिनुपर्थ्यो। तर, कम्पनीले हामीलाई काम गरेको दिनको मात्रै तलब दिन्थ्यो। डिउटी नदिएको दिनको तलब दिने गरेको थिएन। कहिले महिनाको चारवटै साप्ताहिक बिदामा काम लगाउँथे। तर, त्यसको छुट्टै पैसा दिँदैनथ्यो। सार्वजनिक बिदाको दिनमा काम लगाएको छुट्टै पैसा दिदैन्थ्यो,’ गोलेले भने, ‘जबकी मलेसियन नागरिकलाई भने सवै सुविधा दिइन्थ्यो। स्थनीयको हरेक बर्ष नियमानुसार बेसिक तलब पनि बढाउँदै लैजान्छ, डबल बोनस दिन्छ, साप्ताहिक र सार्वजनिक विदा दिन्छ। सार्वजनिक विदामा काममा बोलाए त्यस दिन डबल पैसा दिन्छ। लामो ओभरटाइम भए खाना खुवाउँछ। हामीलाई त्यस्तो कुनै सुविधा दिएन।’

 

ओभरटाइम गर्दा स्थानीयलाई प्रतिघण्टा २ रिंगेट दिन्थ्यो भने विदेशी कामदारलाई प्रतिघण्टा १.५ रिंगेट दिने गर्थ्यो। त्यसको पनि हिसाबकिताब पारदर्शी थिएन। कम्पनीले आफूहरुमाथि श्रम शोषण र ज्यादती गरेको भन्दै शरणकुमार राई, बुद्धि राई, ज्ञानबहादुर गिरी, रमेश भण्डारी, दिनेश थारु, इन्द्र बुढाथोकी सम्मिलित एक सय ८५ जना कामदारले कम्पनीविरुद्ध मुद्दा हाले। ‘कम्पनीले अति गरेपछि खास कानुन के हो भन्दै बुझ्न थाल्यौ। दूतावास पनि गयौं। श्रमिकको पक्षमा काम गर्ने स्थानीय संस्थाहरुमा पनि धायौ। उनीहरुले कम्पनीले कानुनको उल्लंघन गरेको बताए। हाम्रो मुद्दा लडिदिने वकिल पनि फेला पर्‍यो अनि हामीले मुद्दा हाल्यौं,’ इन्द्र बुढाथोकीले भने।

उनीहरुले तलब र ओभरटाइमको पैसा हिनामिना गरेको भन्दै कम्पनीविरुद्ध झन्डै १५ करोड रुपैयाँ (५० लाख रिंगेट) मागदावी गरी स्थानीय श्रम अदालतमा मुद्दा दायरा गरे। श्रम अदालतमा तीनवटा उजुरी गरेका थिए। जसमा २ वटा २०१९ र एउटा २०२० मा दर्ता गरेका थियो। वकिलले झन्डै एक सय ५० जनालाई तलब नदिएको र महिनामा २ सय २९ घण्टा काममा लगाएको प्रमाण पेश गरेका थिए। मलेसियाको स्थानीय कानुन अनुसार महिनामा कामदारलाई १ सय ४ घण्टा भन्दा बढी ओभरटाइममा लगाउन पाइदैन।

कम्पनीले कामदारलाई स्वस्थकर आवाससमेत नदिएको कामदारको आरोप छ। ‘बस्नका लागि सुरक्षित छैन। एउटा कोठामा ६ जनासम्म राखेको छ। क्याम्पको सरसफाईमा ध्यान दिइएको छैन। क्याम्पको खर्चवापत महिनाको ५० रिंगेट काट्छ। खाना आफैंले बनाउने हो,’ शरणकुमार राईले भने।

‘मुद्दा फिर्ता लिन कम्पनीको धम्की’

कम्पनीविरुद्ध नेपाली, भारतीय र म्यानमारका कामदारले मुद्दा दायरा गरेका थिए। जसको नेतृत्वदायी भूमिका गर्ने नेपाली कामदारलाई मुद्दा फिर्ता लिन कम्पनीले पटकपटक धम्की दिएको कामदारले बताएका छन्।

‘मैले यहाँको नागरिक (मलेसियन)लाई त तह लगाइरेको छु। तिमीहरु को हो र? तिमीहरुलाई घर जान मन छैन?’ कम्पनीका मानव संशाधनका प्रमुखको भनाई उद्रृत गर्दै गोलेले भने, ‘मैले गरेर तिमीहरुले आफ्नो परिवार पालेको छौ। पहिला तिमीहरुको चप्पल लगाउने हैसियत थिएन। अहिले मैलेभन्दा राम्रो जुत्ता लगाउन पाएका छौं। यो केस फिर्ता गरेनौं भने भोलीको दिनमा जे पनि हुनसक्छ भनेर हामीलाई धम्क्यायो।’

कम्पनीले धम्कीपछि १५ जना कामदारले मुद्दा फिर्ता गरेको गोलेले बताए। तर, गोलेहरुले भने मुद्दा फिर्ता गर्नुको सट्टा कम्पनीबाट असुरक्षा भएको भन्दै स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए। यसको बदलामा कम्पनीले मुद्दामा हस्ताक्षर गर्नेहरुको करार अवधि थपिदिएन। ‘सयजना भन्दा बढी नेपालीलाई कम्पनीले भिसा थपिदिएन। भिसा नथपेपछि नेपाल फर्किनुपर्‍यो,’ गोलेले भने।

कम्पनीमा अहिले झन्डै ६५ जना नेपाली कामदार छन्। उनीहरु प्राविधिक भएको र मलेसियाले नयाँ कामदार ल्याउन नदिएकोले उनीहरुलाई राख्न कम्पनी बाध्य भएको बुढाथोकीले बताए।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कम्पनीले स्थानीय श्रम कानुनलाई सम्मान गर्दे कामदारले पाउनुपर्ने सेवासुविधा दिनुपर्ने बताए। ‘जो कामदार मुद्दा हालेर नेपाल गएका छन्, उनीहरु नेपाल पुगे पनि पाउनुपर्ने सुविधाबाट बञ्चित गरिदिनु हुँदैन,’ राजदूत पाण्डेले भने, ‘मुद्दाको अन्तिम फैसाला नआएसम्म कम्पनीमा रहेका नेपालीमाथि कम्पनीले कुनै वाधा व्यवधान पुर्‍याउनु हुँदैन भनेर हामीले कम्पनीलाई भनेका छौं।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button