अन्न सकिएपछि चेपाङ्ग परिवार कन्दमूलको खोजिमा।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

६० वर्षीय कृष्णबहादुर चेपाङ निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि बिहान गिट्ठा खोज्न जंगलतिर जान्छन्। बूढाबूढीको छाक गिट्ठाकै भरमा टरिरहेको छ। घरमा अन्न नहुँदा कालिका नगरपालिका–११ बन्दिपुरे टोलका चेपाङको दैनिकी गिट्ठा, भ्याकुर खोजेर बित्ने गरेको छ।

‘घरमा चामल छैन, माग्न जाऊँ साहुले पत्याउँदैनन्’, उनी भन्छन्, ‘गिट्ठा, भ्याकुरले छाक टार्ने हो। यो पनि धेरै खाए जिब्रो बाक्लो हुन्छ। बाध्यताले खान परेको छ।’
यहाँका बासिन्दालाई हिजोआज गिट्ठाकै चिन्ता छ। काम गरेर कमाउन नपाएको र घरमा खानेकुरा सकिएकाले छाक टार्न उनीहरूले गिट्ठा, भ्याकुर खोज्न दिनहुँ जंगल चहार्ने गरेका छन्। पैसो कमाउन सहरमा गएकाहरू अहिले घरमै बसेका छन्। काम गर्न जान नपाउँदा भोकै परिने डर पनि उनीहरुमा छ।

६ छोराछोरीसहित बसेका फुलकुमारी चेपाङ दम्पती यस्तै चिन्तामा रहेछ। ‘पाखो बारीमा जति दुःख गरे पनि अन्न थोरै फल्छ। ६ महिनासम्म घरको खाने हो। त्यसपछि जंगल जाने हो’, फुलकुमारी भन्छिन्, ‘मकै सक्कियो, साहुले पत्याउँदैन अनि कसो गर्ने त ?’

बन्दीपुरे टोलकै कुनराज चेपाङको बिहान–बेलुकाकै छाक गिट्ठा, भ्याकुर रहेछ। मजदुरी गरेर परिवार पाल्ने कुनराज अहिले काम गर्न नपाएपछि जंगलमा गिट्ठाभ्याकुर खोज्न जान्छन्। घरमा एक वर्षको छोरा छ। अर्को अलि ठूलो छ। बच्चाबच्चीलाई पनि त्यही खुवाउनुपर्छ। ‘घरमा अन्न छैन, गिट्ठाभ्याकुर खोज्दै खाने हो’, उनी भन्छन्, ‘कमाउन जाउँ बाहिर निस्कन पाइँदैन, सँधैको छाक नै यही गिट्ठा हो।’

फागुनदेखि अनिकाल व्यहोरेका उनीहरुले पाखोबारीमा लगाएको मकै भदौ नलागेसम्म भित्र्याउने बेला हुँदैन। मजदुरी नपाएका बेला पसलबाट सामान उधारोसमेत पाउँदैनन्। बालबालिका, बृद्धबृद्धा र सुत्केरी झनै बढी समस्यामा छन्। वर्षेनी खाद्यान्न अभावको समस्या झेल्न बाध्य चेपाङ समुदाय निषेधाज्ञाका कारण झन् प्रताडित बनेका छन्।
चेपाङ अभियन्ता केपीकिरण शर्मा चेपाङ गाउँमा भोकमरी परेको बताउँछन्। ‘चेपाङ गाउँमा यो बेला सधैं भोकमरी लाग्छ। त्यसमा पनि बन्द भएपछि काम गर्न नपाउँदा आम्दानीको बाटो बन्द भएको छ’, शर्मा भन्छन्, ‘त्यसै त गरिबीले पिल्सिएकाहरु अहिलेको निषेधाज्ञाले झन् मारमा परेका छन्।’

सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये चेपाङ अति सीमान्तकृत समुदायमा पर्छ। यो समुदाय गरिबीमा छ भने निषेधाज्ञा अवधिमा उनीहरुको दैनिकी अझै कष्टकर बनेको छ। अहिले अधिकांश चेपाङको घरमा खाद्यान्नको चरम अभाव छ। यस अवधिमा केहीले राहत पाएका छन्। तर, त्यो पर्याप्त देखिँदैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button